Menu

आजको मौसम

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल भ्रमणमा आउँदै

Author
News Feed |
November 19, 2024
Featured

काठमाडौं —

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन्।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन्। उनले कमान्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्नुहुने कार्यसूची छ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ।

यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिन्।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।

आदिम कालदेखि नै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ। खुला सीमाना र एकैखाले सांस्कृतिक सम्बन्धले पनि दुई देशबीच जनस्तरमा समेत प्रगाढ सम्बन्ध बनाएको छ।

नेपाल र भारतका सैनिक सङ्गठनको घनिष्ट सम्बन्धले राजनीतिक र कूटनीतिक तहमा बेलाबखत उठ्ने प्रश्न स्वतः हराउँदै जाने गरेको छ। नेपाली र भारती सेनाबीचको यो सम्बन्धले एक–अर्काप्रति विश्वास र भरोसा प्रदान गरेको छ।

नेपाल–भारतबीचको खुला सीमानाका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै विश्वास र सहकार्यलाई अघि बढाउन मानार्थ महारथीको परम्पराले थप मलजल गरेको छ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन