Menu

आजको मौसम

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा सरकारी कार्यालयमा छड्के, ३२ कर्मचारी अनुपस्थित

Author
News Feed |
November 12, 2024
Featured

पर्सा-

सेवाग्राहीको अत्यधिक चाप हुने पर्सा जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के निरीक्षणमा ६ वटा कार्यालयमा ३२ जना कर्मचारी अनुपस्थित फेला परेका हुन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यालय प्रमुख र कर्मचारीहरू नियमित रूपमा उपस्थित नहुने जनगुनासो आएपछि अनुगमन टोली खटाइएको जानकारी दिए। ूसेवाग्राहीको चाप हुने र अत्यधिक कार्य बोझ भएका कार्यालयमा निरीक्षण गर्दा कर्मचारी मात्र नभएर कार्यालय प्रमुखसमेत अनुपस्थित रहेको पाइएको छ। केही कर्मचारीले लामो समयदेखि कार्यालयमा हाजिरी नगरेको भए पनि बिदामा भने बस्नेसम्म नगरेको देखिएको छ,ू अर्यालले भने। उनले नमुना निरीक्षणको क्रममा सरकारी कार्यालयहरूको स्थिति सन्तोषजनक नभएको टिप्पणी गरे।

अधिकारी अर्यालका अनुसार प्रादेशिक कार्यालयहरूमा सम्बन्धित प्रादेशिक मन्त्रालयलाई जानकारी गराई गयल भएका कार्यालय प्रमुखलाई स्पष्टीकरण सोध्ने र अन्य अनुपस्थित कर्मचारीहरूमाथि कारबाहीका लागि कार्यालय प्रमुखलाई निर्देशन दिइनेछ। जनसम्पर्क बढी भएको र गुनासो आउने कार्यालयहरूको नियमित अनुगमन गरेर कार्यालय समयमा अनुपस्थित हुने तथा पोसाक नलगाउने कर्मचारीहरूमाथि कारबाहीका लागि सिफारिस गरिने उनले बताए।

निरीक्षण टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र सुमन कुमार कार्की सहभागी थिए। टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, सघन सहरी तथा भवन निर्माण कार्यालय, नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालयको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा यातायात व्यवस्था कार्यालय पर्सामा सबैभन्दा बढी ११ जना अनुपस्थित रहेको पाइएको थियो।

भूमिसुधार तथा मालपोत कार्यालयका २१ जना कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको देखिएको छ। दरबन्दीअनुसार ५१ जना कर्मचारी कार्यरत रहे पनि सोमबारको निरीक्षणमा ४ जना बिदामा र ३ जना बिना जानकारी अनुपस्थित रहेको पाइएको थियो।

प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रमा ई–हाजिरी प्रणाली लागू भए पनि निरीक्षण टोलीलाई हाजिरीको विवरण उपलब्ध नगराइएको कारण सबै कर्मचारीको उपस्थिति विवरण प्राप्त हुन नसकेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार कृष्ण प्रसाद कुशवाहाका अनुसार ढिलो आउने कर्मचारीलाई पुनः समय पालनाको चेतावनी दिइएको छ भने ढिलाइ गर्दा कारबाही गरिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन